
एजेन्सी । साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन: बराबर गरे ।
पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः विश्वकप जिताउन सफल भएका छन्।