एकेडेमीको स्थापना दिवसमा आयोजित ठेलो प्रतियोगितामा निरज प्रथम

-


     मर्दी न्युज    
     पुस १८ गते २०७९ मा प्रकाशित


पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा रंगशालामा आयोजित ठेलो प्रतियोगितामा स्याङ्जाका निरज गुरुङ पहिलो भएका छन् । उनले १५.१९ मिटर ठेलो फाल्दै सम्मान पत्रसहित नगद ३५ हजार हात पारे । यस्तै उनका प्रतिष्पर्धी किरण विक १४.९४ मिटर ठेलो फाल्दै दोस्रो भए । उनले नगद २५ हजार र सम्मानपत्र हात पारे । यस्तै रोहित सुनारले १४.२० मिटर ठेलो फाले भने उनले नगद १५ हजारका साथमा सम्मानपत्र प्राप्त गरेका छन् । ठेलो प्रतियोगितामा ११ जनाभन्दा बढीले नाम टिपाएका थिए ।

ठेलो प्रतियोगिता अघि भएको कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका तीन जना अग्रजहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा पूर्व फुटबल खेलाडी रुद्रनाथ पौडेल, अग्रज पत्रकार नारायण कार्की र वरिष्ठ नृत्यकर्मी बुद्धिप्रसाद गुरुङ ‘गौरी’ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभाका सदस्य एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले उनीहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै सांसद अधिकारीले नेपाली मौलिक खेलहरु नेपालका राष्ट्रिय खेल भएको बताए । उनले नेपालमा राष्ट्रिय खेल कुन राखिने भनेर लामो चर्चा र बहस भएको बताउँदै ठेलो खेलको आफ्नै महत्व रहेको बताए । उनले ठेलो फाल्ने खेल नेपालको मौलिक भएको बताउँदै यस खेललाई अघि बढाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धतासमेत गरे ।

राखेपका सदस्य एवम् एकेडेमीका संयोजक राजेशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व अग्रज पत्रकार पत्रकार नारायण कार्की, प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, एकेडेमीका सचिव कृष्ण तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए ।