पोखरा म्याराथन फागुन ६ गते, विजेतालाई ५ लाख

-


     मर्दी न्युज    
     पुस १९ गते २०७९ मा प्रकाशित


पोखरा । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ६ फागुनमा हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सिटी म्याराथनको अवधारणा अनुरुप पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले यही फागुन ६ गते शनिवार १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा विभिन्न ८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पोखरा म्याराथनले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संगठन ‘एम्स’बाट मान्यता पाएको छ ।

प्रतियोगितामा खुला म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन (महिला) २१.०९७ किमी, १० किलोमिटर पुरुष तथा महिला दौड, ५ किलोमिटर विद्यालयस्तरीय छात्र–छात्रा दौड, ह्विलचियर तथा दृष्टिविहीन दौड (महिला, पुरुष) र ‘रन फर फन’ गरी ८ इभेन्ट हुने मंगलवार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

अध्यक्ष पराजुलीका अनुसार यसै संस्करणदेखि खुला म्याराथन विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो १६ औं संस्करणमा पुरस्कार राशी ४ लाख रुपैयाँ थियो । म्याराथनमा दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

यस वर्षदेखि प्रदेशबाट पनि आफ्नै खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरुप प्रदेशस्तरीय धावकलाई पनि छुट्टै पुरस्कार राशीको व्यवस्था गरेको अध्यक्ष पराजुलीले बताए । म्याराथनमा गण्डकी प्रदेशतर्फ पहिलो हुनेले ५० हजार, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । महिला हाफ म्याराथन, १० किमी महिला र पुरुष दौड, ह्विलचियर तथा दृष्टिविहीन दौडको पुरस्कार राशीमा पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।

म्याराथनलाई प्रविधिमैत्री बनाउन यसै संस्करणदेखि चिप्सको प्रयोग गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनका धावकले चिप्स प्रयोग गर्नेछन् । चिप्सको प्रयोगले धावकको समयलाई निश्चित बनाउनुका साथै नेपाली तथा विदेशी धावकलाई हौसला प्रदान गर्नेछ ।

प्रतियोगिता भाग लिन अफ्रिकी मुलुकका २० र नेपालका २५ धावक सम्पर्कमा आइसकेको मञ्चका केशव पाठकले जानकारी दिए । उनका अनुसार अफ्रिकी मुलक केन्याबाट पोखरा म्याराथनमा भाग लिन इच्छुक देखिएका छन् ।