पृथ्वीनारायण क्याम्पसका जग्गामा पुल निर्माण हुँदा विरोध

-


     मर्दी न्युज    
     पुस २१ गते २०७९ मा प्रकाशित


पोखरा । पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ । कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न सो पुल निर्माण गर्न लागेको हो ।

पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ । क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ ।

क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए ।

सोबारे पृथ्वीनारायण क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी पुल निर्माणकार्य बन्द गर्न र क्याम्पसको हितविपरीत काम नगर्न सम्बद्ध पक्षसँग माग राखेको छ ।

क्याम्पस प्रमुख सरोज कोइरालाले भने, ‘सो जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रक्रियामा अगाडि बढेको छ । हामी विकास विरोधी होइनौं, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’

२०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस मुलुककै अग्रणी शिक्षण संस्थाका रुपमा लिइन्छ । यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ विषयमा झन्डै १५ हजार विद्यार्थी अध्ययनरत छन् ।