पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न स्वीकृति

-


     मर्दी न्युज    
     पुस २२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सो जानकारी दिएका हुन्।

आयोजनाको प्रभावकारी व्यवस्थापन र यथेष्ट लाभको सुनिश्चितता गर्न सरकारले आवश्यक जनशक्तिसमेत व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए।

पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १७ गते सो विमानस्थलको उद्घाटन गरेको थियो । चिनियाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री पौडेलले कोरोना महामारीका बाबजुद पनि पोखरा विमानस्थल समयमै निर्माण भएको बताए ।

बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पदबाट राजिनामा दिएसँगै लुम्बिनी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको पद रिक्त छ । उनी राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित हुन् ।

सरकारले राष्ट्रियसभाको उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराएको प्रवक्ता पौडेलले बताए । बैठकले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही रु १० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए । प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक अघि पाण्डेका परिवारसँग छलफल गरी शव नेपाल ल्याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।