
पोखरा । गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका उनले पक्षमा ३२ मत प्राप्त गरे भने विपक्षमा २६ मत परे। उनले बहुमत ल्याएपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी सरस्वती अर्यालका लागि मतविभाजन गर्न परेन।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप आज शनिबार निर्वाचन भएको हो । संविधानको धारा १८२ को उपधारा (१) बमोजिम सभामुखको निर्वाचन भएको हो ।
गण्डकीमा नेकपा एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो। सोहीअनुसार नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्।
६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।