देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित

-


     मर्दी न्युज    
     पुस ३० गते २०७९ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताएका छन् । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।’

उनले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गरे । डेलिभरी दिएर मात्र परिवर्तनको वैधता रहने उनले स्पष्ट पारे । यता देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् ।

उनले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए । ‘उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैङ्क बीचमा अप्ठ्यारो स्थिति थियो । मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु । उनले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गरे । ‘केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौती छिचोलिन्छ ।’

प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली काँग्रेससँग पनि छलफल हुने बताए ।