
पोखरा । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू–भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम बदली बुधबारसम्मै कायम रहने छ ।
देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भू–भागहरूमा विहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।