मौसम पूर्वानुमान : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

-


     मर्दी न्युज    
     माघ ४ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ भने तराईका केही भु–भागमा हुस्सु÷कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बिहीवार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भू–भागहरूमा विहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।