सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

-


     मर्दी न्युज    
     माघ ५ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राती सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भू–भागहरूमा विहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।