
पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै मध्य तथा पुर्वी तराईका एक÷दुई स्थानमा हुस्सु÷कुहिरो लागेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भू–भागहरूमा विहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।