
काठमाडौं । सभामुख देवराज घिमिरेले आफू नेकपा एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।
नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।”
बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।
घिमिरेले आजै पदभार ग्रहण गरेका छन्। शपथ लगत्तै सभामुख घिमिरे सभामुखको कार्यकक्ष सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्।