एमाले सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

-


     मर्दी न्युज    
     माघ ६ गते २०७९ मा प्रकाशित


काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद महतोलाई पक्राउ गर्न नेपाल प्रहरीलाई निर्देशनात्मक पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

शुक्रबार गृहमन्त्रालयका प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’

बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गरेका थिए ।

कोइरीमाथि कर्तव्य ज्यान मुद्दामा प्रेमबहादुर विकले जाहेरी दर्ता गराएका छन्। कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।