उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

-


     मर्दी न्युज    
     माघ ७ गते २०७९ मा प्रकाशित


प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिवार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई सत्तारुढ गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले मतदान गरेका थिए । नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।