खगेन्द्रराज घिमिरेको कथा संग्रह ” दोष कसको?” को लोकार्पण

-


     मर्दी न्युज    
     माघ ८ गते २०७९ मा प्रकाशित


पोखरा । स्याङ्जा जिल्लाको आरुचौर जन्मथलो र बिगत लामो समयदेखि पोखराको पार्दी बिरौटालाई कर्मथलो बनाएका खगेन्द्रराज घिमिरे नेपाल सरकारको निजामती सेवामा उपसचिव पदबाट सेवानिबृत हुनुभएको हो। हाल पोखरामा स्वतन्त्र कानुन ब्यवसायीको रूपमा कार्यरत घिमिरेको साहित्य क्षेत्रमा पनि गहिरो अभिरुचि र लगाव रहेको छ। विभिन्न पत्रपत्रिकामा समसामयिक लेख रचनाहरु प्रकाशित गरिसकेका घिमिरेको पहिलो प्रकाशित कृति ” दोष कसको ?” आज आइतबारको दिनमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ।

पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरको सभामा भएको औपचारिक कार्यक्रममा पुस्तक लोकार्पण र साहित्यकार दिपक पराजुलीद्वारा पुस्तकमा भएका १६ वटै कथाहरुका विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले घिमिरेको साहित्यिक यात्राको सफलताको शुभकामना सहित प्रकाशित कृतिको प्रशंसा गरेका थिए।

साहित्यकार शिव शंकल्पले संचालन गरेको कार्यक्रमको अध्यक्षता प्रकाशक अस्मिता घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा साहित्य अनुरागी महानुभावहरु र आफन्तजनको बाक्लो उपस्थिति रहेको थियो। आज बिमोचित पुस्तक हिमालयन रिडर्स कर्नरमा आजैबाट र क्रमशः नेपालभर उपलब्ध हुने जनाएको छ।