पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आज साँझदेखि पानी पर्ने सम्भावना

-


     मर्दी न्युज    
     माघ ९ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।