
घोडाघोडी । दसौं संस्करणको ‘लाटोकोसेरो तथा हुचिल महोत्सव–२०७९ सुरु भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र चरा संरक्षण नेटवर्क, कैलालीको मुख्य आयोजनामा तथा संरक्षणसम्बन्धी सरोकारवाला, सरकारी र गैरसरकारी संघसंस्थाको सहयोगमा सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत घोडाघोडी नगरपालिका वडा नं ४ माघी थारुगाउँस्थित नव प्रभात आधारभुत बिद्यालयको प्राङ्गणमा दसौं संस्करणको ‘लाटोकोसेरो तथा हुचिल महोत्सव’ को शुभारम्भ भएको हो।
लाटोकोसेरो र हुचिलको संरक्षण, तिनले मानवजगतलाई लगाएको गुणबारे जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय जनसमुदाय, घोडाघोडीस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, निर्वाचित जनप्रतिनिधिहरु र देशभरबाट आएका संरक्षणकर्मीहरु र मिडियाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको छ।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, संरक्षणसम्बन्धी गीतिनाटक, मौलिक खानाका परिकारहरु समेत प्रदर्शन गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि माननिय सांसद गंगाराम चौधरिको हातबाट विभिन्न संरक्षणकर्मिहरुलाई सम्मान एवम् पुरस्कृत गरिएको छ। सम्मानित हुनुहुने महानुभावहरुमा जाजरकोटका गोबिन्दबहादुर सिंह, काठमाडौंका हेमबहादुर कटुवाल चितवनका कान्तिपुरकर्मी रमेशकुमार पौडेल तथा मित्रराष्ट्र भारतका संरक्षणकर्मी प्रा डा. सतिश ए. पाण्डे हुनुहुन्छ। उत्सव भोलि माघ २१ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

