बिक्री नभएपछि सडकमा तरकारी फालेर किसान आन्दोलन

-


     मर्दी न्युज    
     माघ २० गते २०७९ मा प्रकाशित


चितवन । उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् । भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै किसानहरुले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेका हुन् ।

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ।

“अहिले बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती छ । नेपाली तरकारीले बजार पाएको छैन ।,” कृष्णराज पराजुलीले गुनासो गरे, “खेतमा तरकारी कुहिएर जान्छ तर सडकमा आएपछि त सबैको आँखा पर्छ नि ।”

पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।