राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन दर्ता

-


     मर्दी न्युज    
     माघ २२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन्।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्।  अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् ।

राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ। नेपाली काँग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने भएको हो।

राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना छन्। गठबन्धनबाट माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिएकी हुन्। राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभामा हाल ५८ जना सांसद छन्।

उपाध्यको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ।