अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

-


     मर्दी न्युज    
     माघ २५ गते २०७९ मा प्रकाशित


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उनले भेटमा बताइन् ।

अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी गराएका थिए ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेको थियो । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।

सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताइन् ।

उनले यसअघि मङ्गलवार परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।