गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी

-


     मर्दी न्युज    
     १४ जेष्ठ २०८० मा प्रकाशित


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनालाई कैद सजाय माफी दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी राष्ट्रपति पौडेलले दिएका हुन् ।

मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को मिति २०८०÷२÷१२ को बैठकको सिफारिसमा मिति २०८०÷२÷१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ÷लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ।’