
पोखरा । पर्यटकीय राजधानी पोखरामा आज मंगलबारदेखि एसिया–प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल संघ, संस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट २०२३ सुरु हुँदै छ ।
नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको उक्त कार्यक्रमको तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिइएको हो ।
होटल पोखरा ग्रान्डमा ४ दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न २२ देशका १ सय ६० जना क्रेता र बिक्रेतासहित झन्डै २ सय ५० जनाको सहभागिता रहने उनले बताए ।
माल्दिभ्सका पर्यटनमन्त्रीसहित ७ देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारीले पनि शिखर सम्मेलनमा भाग लिनेछन् । ‘अन्तरराष्ट्रिय विज्ञदेखि पर्यटनसँग सम्बन्धित विशिष्ट पाहुनाहरु सम्मेलनका लागि पोखरा आइपुग्नुभएको छ’, कार्यकारी अधिकृत रेग्मीले भने, ‘पाटाको शिखर सम्मेलन आयोजना गर्ने नेपालको धेरै पहिलेदेखिको सपना पूरा हुँदै छ, यो हामी सबैका लागि गौरवको विषय हो ।’
नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक पाटा शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो । एडभेन्चर ट्राभल मार्ट भने यसअघि पनि नेपालमा हुँदै आएको थियो । पाटा शिखर सम्मेलनले अन्तरराष्ट्रियजगतमा नेपाललाई चिनाउन र कोभिड १९ महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न टेवा पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा पर्यटनमा ख्याति कमाएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विज्ञ तथा वक्ताको दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक तथा पर्वतीय पर्यटनलगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । पाटाको शिखर सम्मेलनसहित, बोर्ड बैठक पनि सञ्चालन हुने पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए ।