
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाने भएका छन् ।
आज (बुधबार) दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ।
प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोही अवसरमा दुई देशबिच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्नेछ।