
सन् १९५० को जून ३ तारीख (आजकै दिन) फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनल ले अन्नपूर्ण हिमशृङ्खला को सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथम (८०९१मि.) को सफलतापुर्वक आरोहण गरेका थिए। आठ हजार मिटर भन्दा अग्लो चुचुरोमा मानव पाइला पुगेको यो पहिलोदिन थियो। हिमाल आरोहणको दृस्टीकोण बाट अन्नपूर्ण प्रथम लाई जेठो हिमालको रूपमा लिइन्छ।
आजभन्दा ठिक ७३ बर्ष अगाडिको त्यो ऎतिहासिक दिनले विभिन्न किसिमका कीर्तिमान र मानव जगतकै लागि नयाँ प्रेरणा र हौसला थपेको थियो। फ्रान्सबाट भारतको नयाँदिल्ली, लखनउ हुँदै नेपाल-भारत सिमाना को नौतुना आएको आरोहणदल लाई नेपाली सरदार आङ्ग थार्के शेर्पाको टिमले भेटेर मालसामान तथा बन्दोबस्तीका सामान सहित गाडीमा बुटवल आएको दस्तावेजहरु मा भेटिन्छ।
त्यो बेला नौतुना बाट बुटवल सम्म कच्ची सडक बनेको थियो । झन्डै २०० जना भरियाहरु र शेर्पाहरु लिएर तानसेन , बागलुङ, दाना हुँदै मुस्ताङको टुकचेगाउँ पुगेर उनिहरु अन्नपूर्णको उत्तरी आधार शिबिर तर्फ लागेका थिए। आरोहण सफल गरेर फर्किनेबेला भने कुश्माबाट कार्किनेटा हुदै आधिंखोला पुतलिखेतको बाटो तानसेनतर्फ लागेका थिए।
यस्तै थुप्रै रोमाञ्चक र बहादुरीपुर्ण कुराहरु समेटेर मौरिस हर्जोगले सन् १९५१ मा “अन्नपूर्ण” नामक पुस्तक लेखेका थिए। उक्त पुस्तक बिश्वप्रख्यात भयो र नेपाल लाई बिश्वमा चिनाउने माध्यम बन्यो। सो पुस्तक सन् २००० सम्ममा एक करोड दसलाख प्रती बिक्री भएको थियो।

यस ऎतिहासिक तथा विशेष दिनको सम्झनामा नेपाल पर्वतारोहण संघ केन्द्रिय कार्यालय, नेपाल पर्बतारोहण संघ, गण्डकी प्रदेश तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको संयुक्त आयोजनामा एक अन्तर्कृयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सभाहलमा आज बिहान भएको कार्यक्रममा सन् २०११ कि अन्नपूर्ण चौंथो (७५२५ मि) आरोही तथा यसै बर्ष दक्षिण अमेरिकाको सबैभन्दा अग्लो चुचुरो माउन्ट अकाङ्कागुवा (६९६१ मि) कि सफल आरोही मनु गुरुङलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक बिकाश तथा स्वास्थमन्त्री माननीय सुशीला सिंखडाले पर्वतीय पर्यटन बिकास र प्रबर्द्धनमा सरकारले जोड दिएको बताउनुभयो। बिश्वब्यापी तापमान वृद्धि र त्यसले हिमाली क्षेत्रमा परेको असर बारेमा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले प्रकाश पार्नुभयो।
पर्वतीय पर्यटनका बिबिध आयामहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक कुन्दन मिश्र, पोखरा महानगरपालिका वडा नं १७ कि वडाध्यक्ष राधिका शाही योगि लगायतले बोलेका थिए। नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेष कान्त शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन निर्मला कुमारी न्यौपानेले गर्नुभएको थियो।