
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् ।
प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका हुन् ।
“प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियतमा रु युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।”
शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजितरुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।
‘भर्खरै माननीय ज्युले केही आफ्ना कुरा राख्नुभयो । उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्न्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीको हुर्मत दिनु भनेको राष्ट्रको हुर्मत दिनु हो, म तत्काल भर्खर व्यक्त गर्नुभएको मान्यका धारणाहरु रेकर्डबाट हटाउन माग गर्दछु ।’