पोखरा । पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशमा भएको लामो तथा छोटा दूरीको पदमार्गमा कोरोना प्रभावको दुई वर्षपछि पदयात्री धमाधम उक्लँदा पदमार्ग क्षेत्रमा चहलपहल निकै बढेको छ । तर, पोखराबाट नजिकको दूरीमा पर्ने हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) भने सुनसान छ।

पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको मध्यपहाडी क्षेत्रमा पर्ने यो पदमार्ग विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण बढेसँगै हालसम्म सुनसान बनेको हो । हिमाल हेर्दै पहाडको उकालो चढ्दै फेरि ओराली झर्दै ग्रामिण परिवेशमा रमाउन चहानेका लागि उपयुक्त सहस्राब्दी पदमार्गको पुनः प्रवर्द्धन एवं बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि शुरु गरिएको छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवर्द्धनमा सात दिने कार्यक्रमका साथ शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको टोली आज आइतबार कोल्मा पुगेको छ ।
सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गर्दै टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १० स्थित रजस्थल, १२ स्थित ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी उक्त होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ कै वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको थियो । टोलीले उक्त वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि अन्तरक्रिया गरेको छ ।
यस्तै, टोलीले पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवम् पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पुतलीबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णबहादुर आले, टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर थापा, आमा समुहका अध्यक्ष रेममाया थापा लगायतसँग अन्त्रक्रिया गरेको छ ।

यसका साथै मिलेनियम पदमार्गमा पइने चराचुरुङ्गी तथा जैविक विविधताबारे पनि अध्ययन भैरहेको छ । पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा पाइने चराहरू, यहाँको जैविक विविधताबारे अध्ययन भैरहेको बताउँदै ती विषयलाई अब छिट्टै पुस्तकमा समेट्ने बताए ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम टे«कको पुनः जागरण एवम् प्रवर्द्धनको लक्ष्यका साथ आँफूहरू आइपुगेको बताएका छन् ।
पदमार्गको पुनः प्रवर्द्धन एवं बजारीकरणमा सहभागी टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवर्द्धनमा टानले सहयोग गर्ने बताउँदै मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए ।
