
काठमाडौँ । संसद् भवनअगाडि प्रदर्शन गर्ने १६ जना अधिकारकर्मीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने,नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो।
मानव अधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस् । सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
यस्तै, ‘चुरे ध्वस्त पार्न पाइँदैनः मधेस मारा नीति चाहिँदैन’, ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ ? भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’ लगायत प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रहरीले पहाडीसहित डा. केदारनरसिंह केसी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारालगायत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।