नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी पक्षले आज जवाफी बहस गर्दै

-


     मर्दी न्युज    
     १ असार २०८० मा प्रकाशित


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा  आज (शुक्रबार)बाट जवाफी बहस सुरु हुने भएको छ ।

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन्। प्रतिवादी पक्षका कानुन व्यवसायीले बिहीबार बहस सकेका थिए। 

काठमाडौँ जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस थालेका थिए।

सरकारी वकिलहरूले प्रतिवादीका कानुन व्यवसायीले उठाएका प्रश्न र न्यायाधीशको जिज्ञासालाई सम्बोधन गर्दै शुक्रबार बहस गर्नेछन्। यसअघि सरकारी पक्षबाट सरकारी वकिलहरूले आइतबारदेखि बुधबारसम्म बहस गरेका थिए।

सरकारी पक्षको जवाफी बहसपछि सम्भवतः शुक्रबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक आदेश सुनाउनेछ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कार्यालय काठमाडौँले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट करोडौँ रकम उठाएको दाबी अभियोग पत्रमा छ।

अभियोग पत्रमा उनीहरूलाई ठगी, सङ्गठित अपराध, राज्य विरुद्धको अपराधसहित ५ अभियोग लगाएको छ। शुक्रबार सरकारी पक्षको जवाफपछि इजलासले थुनछेक आदेश सुनाउने छ।

इजलासले अभियोग पत्रसँगै पेस भएका प्रतिवादीहरूलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छ। अदालतले उनीहरूलाई थुनामा पठाएमा उनीहरू फैसला नभएसम्म थुनामै बस्नु पर्ने छ। जिल्लाको फैसलाविरुद्ध उच्च र सर्वोच्च जाने बाटो भने खुला नै हुने छ।