तीन प्रदेशका केही स्थानमा भारी वर्षा र तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     असार १४ गते २०८० मा प्रकाशित


पोखरा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।