
पोखरा, १७ साउन । गुरुङ जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधान, संस्कार र आध्यात्मिक दर्शनबारे तमु प्ये ल्हु संघ स्याङ्जाली इकाई समितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जाली तमु समाज, तालबेसीमा बुधवार पुर्ख्यौली अनुभव तथा अनुभूतिमा आधारित ‘तमु बोँ धर्म’ शास्त्रहरु र शास्त्रमा आधारित संस्कृतिबारे अन्तरक्रिया भएको हो । अलिखित रुपमा रहेको ‘प्ये ताँ, ल्हु ताँ’ (धर्म तथा संस्कृति)मा भएको विविधताबारे सहभागीहरुले प्रश्न गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख आकर्षक व्यक्तित्व पच्यु पैंडी चिवा यारजङ क्रोंम्छैं तमुले शास्त्र वाचनसहित जवाफ दिएका थिए । उनले प्रत्येक गाउँका म्हिग्रेचोंकीहरुले खेगीहरुले गरेको यज्ञमा बसेर उनीहरुको कृयाकलापलाई ध्यान दिएर सुन्न र त्यसबारे उनीहरुलाई प्रश्न गर्न आग्रह गरे । तब मात्र खेगीहरुले वाचन गरेको शास्त्र सबैले बुझ्ने र अर्थ्याउन सकिने बताए ।
मौखिक र कण्ठस्थ रुपमा रहेको नेपालको सांस्कृतिक गहना ‘प्ये ताँ ल्हु ताँ’लाई लिपिबद्ध गर्न तमु प्ये ल्हु संघले चासो नदिएको प्रति उनले गुनासो पोखे । संघ स्थापनाको मुख्य उद्देश्य प्येलाई एकीकृत गर्नु भएको बताउँदै ३२ वर्ष पुगिसक्दा पनि संस्थाले चासो नदिएको गुनासो गरे । ‘३२ वर्षको अवधिमा थुप्रै खेगी गुरुहरु बितेर गइसके, अहिलेका अधिकांश खेगीहरुले प्ये वाचन गरेपनि सबै अर्थ्याउन सक्दैनन्’, उनले भने, ‘केही बृद्ध भइसकेका खेगीहरु छन्, उनीहरुबाट तत्काल प्येको अर्थ लिपिबद्ध गर्नुपर्छ नत्र त्यो पनि हराउँछ ।’
पच्यु पैंडी चिवा क्रोंम्छैं तमुले समाजमा विभिन्न आयातित तथा अन्य धर्मको प्रभावमा परी आफ्नो मौलिकता हराउँदै गएकाले त्यसतर्फ समाजका बुद्धिजीवी वर्गहरु सचेत भएर लाग्नुपर्ने बताए । कुनै पनि व्यक्तिले दुईवटा धर्म एकैचोटी मान्न नसक्ने जिकिर गर्दै तमु जातिको मौलिक र उत्कृष्ट प्राकृतिक ‘बोँ’ धर्म भएको बताउँदै अबका खेगीहरुले जनमानसमा प्रष्टसँग राख्न सक्नुपर्ने बताए ।
‘खेगीहरुले कुनै पनि यज्ञ गर्दा शास्त्रीय मान्यता र आधार लिएर मात्र गर्नुपर्छ, शास्त्रीय मान्यताभन्दा बाहिर जानु हुँदैन’ उनले भने, ‘कुनै पनि यज्ञको अर्थ सबै खेगीले जान्नुपर्छ र चोंगीलाई बुझाउन पनि सक्नु पर्छ ।’ खेगी भएर लोभ लालचमा फसी मौलिकतालाई छाड्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
प्ये (शास्त्र) प्रकाशनको लागि आर्थिक सहयोग पनि संकलन भएको छ । अन्तरक्रिया कार्यक्रममा नै सहभागीहरुले मौखिक रुपमा भएको प्येलाई लिपिबद्ध गर्ने कार्य ज्यादै उत्कृष्ट कार्य भएको बताउँदै आर्थिक सहयोग गरेका हुन् । विभिन्न व्यक्तिहरुबाट ८० हजारभन्दा बढी आर्थिक संकलन भएको छ । कार्यक्रममा टौबहादुर तमु, दुर्गाबहादुर तमु, हेमबहादुर तमु, ले. नेमबहादुर तमुलगायतले प्रतिव्यक्ति दश हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । यस्तै आर्थिक सहयोग गर्नेहरु क्या. जंगबहादुर तमु, चित्रबहादुर तमु, सूर्यबहादुर तमु, क्या. चेतबहादुर तमु, बखतबहादुर तमु, ईमबहादुर तमु, श्यामबहादुर तमुलगायतले पनि आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै गरी समाजमा आबद्ध अन्य व्यक्तित्वहरुले अनुकूल मिलाएर घरमा आउन पनि अनुरोध गरिएको आर्थिक संयोजक निराश तमुले बताए ।
नेमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा, पच्यु चिवा ठउबा च्हाक्ली तमु, प्ये संकलन/प्रकाशन समितिका संयोजक ख्यामबहादुर तमु, प्रकाशन समितिका आर्थिक संयोजक निराश तमु, टौबहादुर तमुलगायतका व्यक्तिहरुले आआफ्ना भनाइ राखेका थिए ।
