
पोखरा, १९ साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको छ ।
जसका कारण अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।
यस्तै राति सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।