
पोखरा । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
जसका प्रभावले अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान साथै मा मधेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान मा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।