हिमालय, मणिपाल र चरकमा आँखा पाक्ने राेगकाे उपचार सित्तैमा

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरभित्र रहेका ३ वटा अस्पतालमा आँखा पाक्ने रोग (कन्जंक्टिभाइटिस)को उपचार सित्तैमा हुने भएको छ । महानगरपालिकाको अग्रसरतामा हिमालय आँखा अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधी सित्तैमा हुने व्यवस्था भएको हो ।

मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निस्शुल्क आँखा परीक्षण तथा औषधि वितरण सम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन् । अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निस्शुल्क परीक्षण र औषधिसमेत वितरण गरिने छ ।

बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निस्शुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निस्शुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. इलिया श्रेष्ठले बताइन् ।

पोखरा महानगरले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालय सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।