कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०८० मा प्रकाशित


काठमाडौं । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको होे ।

सीआईबीले सांसद शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।

‘नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवम् जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ’, सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।
सीआईबीका अनुसार कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुनबमोजिम गरी पाउँ भन्नेसमेत ब्यहोराको नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ । त्यही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आईएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको उल्लेख गरिएको छ ।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् । शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन् ।