
पोखरा, १० भदौ । गुरुङ जातिको हालसम्म मौखिक रुपमा रहेको शास्त्र ‘खेगी प्ये संकलन÷प्रकाशन र हाम्रो दायित्व’बारेमा अन्तरक्रिया कार्यक्रम पोखरा–१५ स्थित स्याङ्जा तमु ट्हो समाजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ पच्यु पैंडी चिवा यारजङ क्रोंम्छैं तमुले दिएका थिए ।
पच्यु पैंडी चिवा क्रोंम्छैं तमुले तमुको शास्त्रमा जातीय विभेदबारे उल्लेख नगरिएको बताए । उनले भने, ‘पच्युको प्येमा ठूलो र सानो जात भन्ने कुराको कहीकतै उल्लेख छैन ।’ मानव–मानवबीच ठूलो र सानो भनी विभेद गर्नु निन्दनीय भएको बताए ।
यसैगरी उनले कुनै पनि व्यक्तिले दुईवटा धर्म एकैचोटी मान्न नसक्ने जिकिर गरे । तमु जातिले विभिन्न धर्मको सिको गर्दै सबै मान्न थालेकाले अबदेखि मौलिक र उत्कृष्ट प्राकृतिक ‘बोँ’ धर्ममा अडिग रहने आग्रह गरे । खेगीहरुले प्रष्टसँग बुझाउन नसकेका कारण आम तमुहरुमा विचलन आएको बताउँदै अबका खेगीहरुले जनमानसमा प्रष्टसँग राख्न सक्नुपर्ने बताए ।
‘खेगीहरुले कुनै पनि यज्ञ गर्दा शास्त्रीय मान्यता र आधार लिएर मात्र गर्नुपर्छ, शास्त्रीय मान्यताभन्दा बाहिर जानु हुँदैन’ उनले भने, ‘कुनै पनि यज्ञको अर्थ सबै खेगीले जान्नुपर्छ र चोंगीलाई बुझाउन पनि सक्नु पर्छ ।’
खेगी भएर लोभ लालचमा फसी मौलिकतालाई छाड्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
यस्तै खेगी प्ये संकलन तथा प्रकाशन समितिका संयोजक ख्यामबहादुर तमुले प्ये प्रकाशन गर्नुपर्ने कारणबारे प्रष्ट्याएका थिए ।
यसैगरी पच्यु चिवा ठउबा तमुले प्ये संकलन÷प्रकाशनले भावी पुस्तालाई आफ्नो मौलिक धर्मबारे पढ्न र जान्न सहज हुने बताए । उनले सबै पच्यु खेगीहरुलाई प्ये संकलन तथा प्रकाशन समितिलाई आफूसँग भएको प्ये दिन आग्रह गर्दै लिपिबद्ध भएमात्र हाम्रो मौलिक प्ये ताँ ल्हु ताँ जोगिने बताए ।
समाजका अध्यक्ष डिलबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघका सल्लाहकार क्या। गंगाबहादुर योज तमु, तमु प्ये ल्हु संघ कास्कीका उपाध्यक्ष केमबहादुर ल्हों तमु, प्ये संकलन÷प्रकाशन समितिका आर्थिक संयोजक निराश तमुलगायतले प्येको संकलन र संरक्षणबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य क्या. दुर्गाबहादुर पाल्जें तमुले राखेको कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्व, आमा समूहलगायतका उपस्थिति रहेको थियो । प्ये संकलन तथा प्रकाशनलाई पच्यु चिवा ठाउबा तमु, समाजका अध्यक्ष डिलबहादुर तमुले जनही क्रमशः पाँच हजार र पाँच हजार पाँच सय रुपयाँ दिने घोषणा गरे । प्ये प्रकाशनको लागि समाजमा आर्थिक संकलन भइरहेको समेत अध्यक्षले जानकारी दिए ।