
प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आइतबार ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । आज सोमवार सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको हो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।
दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुई वटै प्रस्तावमाथि छलफल हुनेछ । त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने छन् । समितिको आजका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पनि प्रवक्ता गिरीले जानकारी दिए ।
प्रमुख राजनीतिक दलहरूले समिति सभापतिमा भागबन्डा गरेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका अन्य दलले सभापतिमा भागबन्डा पाएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समितिमा भाग पाएको छ । नेकपा (माओवादी केन्द्र) ले पाएको दुई समितिबाट एउटा राप्रपाले पाएको हो । समितिको नेतृत्वमा राजनीतिक सहमति नभएपछि रास्वपाले भने एउटामा मनोनयन दर्ता गरेको छ ।
प्रतिनिधि सभा सचिवालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट तीन समितिमा उम्मेदवारी परेको छ । कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणाको उम्मेदवारी परेको छ । तीनै समितिमा एक उम्मेदवारी परेको छ ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सार्वजनिक लेखासहित दुई समितिमा उम्मेदवारी दिएको छ । लेखामा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहले उम्मेदवारी दिएका छन् । लेखा प्रतिपक्ष दलले पाउने संसदीय मान्यता अनुसार एमालेले पाएको हो । एमालेले उम्मेदवारी दिएका समितिमा पनि एकल मनोनयन परेको छ । यस्तै माओवादी केन्द्रले कानुन न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाएको छ । सुवेदीको पनि एकल मनोनयन परेको छ । यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा दीपक सिंहलाई उम्मेदवार बनाएको छ । सिंहको पनि एकल उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)को भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशीको उम्मेदवारी परेको छ ।
जोशीको पनि एकल मनोनयन परेको छ । यस्तै जनता समाजवादी पार्टीले पाएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव सभापतिको उम्मेदवार बनेका छन् । यादवको पनि एकल मनोनयन परेको छ । जनमत पार्टीले पाएको उद्योग तथा वाणिज्य समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । उद्योगमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । दुईबिच आज सोमवार निर्वाचन हुने छ ।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।