
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको हो । यसअघि पनि उनी सर्वोच्चकै आदेशमा पदमुक्त भएका थिए ।
थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् । सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ ।
कोसीमा एमाले सबैभन्दा ठूलो दल रहेको छ भने दलको नेता हिक्मत कार्की रहेका छन् । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।