
पोखरा, २४ भदौ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, पोखराको ३०औं वार्षिक साधारण सभा आज लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय दिपेन्द्रबहादुर थापाले पर्यटन व्यवसायीहरुलाई परेको मर्काप्रति आफू गम्भीर भएको बताए । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार बीच तालमेल र समन्वयको अभाव भएको स्विकार्दै आफुले संघ सरकार र स्थानीय सरकार बीच पुलको काम गर्ने बताए ।
साधारणसभाका वक्ताहरु पोखरा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष गोपिबहादुर भट्टराई, टान गण्डकीका पूर्व अध्यक्ष तथा सल्लाहकार टिकाराम सापकोटा , टान केन्द्रका उपाध्यक्ष धनबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतबहादुर पुनले पोखराका विविध पक्षबारे सल्लाह सुझाव दिएका थिए । सम्पुर्ण बक्ताहरुको चिन्ता र चासो पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको प्रभावकारी संचालन, मुग्लिन पोखरा सडक बिस्तारको गति र अहिलेको दुरावस्था, छोटिदै गरेका पदमार्ग र नयाँ गन्तव्यको खोजीमा सरकारी उदासिनता, टिम्स कार्ड बारेमा अहिलेसम्म पनि अन्योलता बिषयमा केन्द्रित थियो।
टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव तिर्थराज सुबेदीले गर्नुभएको थियो भने समापन मन्तव्य प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रमको दौरान टान गण्डकीलाई विभिन्न समयमा सहयोग पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई प्रसंशा पत्रद्वारा सम्मानित गरिएको थियो।