नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०८० मा प्रकाशित


काठमाडौँ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

नेम्वाङको मिति २०८०।०५।२६ गते बिहान असामयिक निधन भएको थियो। बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिएको थियो। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा लगिएको थियो।

आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।

त्यसअघि शवयात्रा हुनेछ। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।

आज सरकारले शोक विदा दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो। आज नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।