पोखरा महानगरपालिकाले पठनपाठन अवरुद्ध नगर्न शिक्षकहरूलाई निर्देशन

-


     मर्दी न्युज    
     असाेज ४ गते २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गर्न निर्देशन दिएको छ ।

शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा जाँदा पठनपाठन अवरुद्ध भएपछि महानगरले सिकाइका क्रियाकलाप पूर्ववत्‌रूपमा नियमित सञ्चालन गर्न शिक्षकहरूलाई निर्देशन दिएको हो ।

आज एक विज्ञप्तिमार्फत महानगरले शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राखेका कतिपय मागहरूप्रति आफूहरू संवेदनशील रहेको बताएको छ ।

महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकास लगायतका सवालमा राख्नुभएको कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेको छ । यद्यपि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुनेगरि आन्दोलनका कार्यक्रमहरू अगाडी बढाउँदा विद्यार्थीहरुको निर्वाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको छ ।’

‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा महानगरपालिका निर्देशन गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।