रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान

-


     मर्दी न्युज    
     ६ अशोज २०८० मा प्रकाशित


पोखरा, ६ असोज । राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ । एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाका अवसरमा पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पौडेललाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र सहकारीका अध्यक्ष डिल्लीराम बरालले संयुक्तरुपमा सम्मान गरे ।

कार्यक्रममा मन्त्री सिम्खडाले कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने बताए । पछिल्ला समयमा सहकारीमा समस्या बढ्न थालेको बताउँदै उनले प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै आर्थिक अनुशासन कायम गर्न सके समस्याहरू निराकरण हुने बताए ।

सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलतामार्फत रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणा अघि बढाइएको बताए । किसानद्वारा उत्पादित अर्गानिक खाद्यवस्तु गोठ तथा बारीदेखि भान्छासम्म पुर्‍याउने लक्ष्यका साथ सहकारी सक्रिय बनेको बताउँदै उनले स्थानीय स्रोतसाधनको उपयोग गरी साझेदारीमार्फत उत्पादन वृद्धि गर्नेतर्फ केन्द्रित बनेको उल्लेख गरे ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सहकारीका उपाध्यक्षद्वय टीकाराम पौडेल र श्रीभद्र बराल, सचिव बाबुराम सुवेदीलगायतले कृषि पर्यटनका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिका साथै रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, कृषि उद्यमी व्यवसायी, विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको थियो ।