
पोखरा । मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा डक्टरहरुलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । यस्तै गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको सरुवा गरिएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि आफन्तले डाक्टरको हेलचेक्र्याइँका कारण मृत्यु भएको भन्दै झडपको अवस्था सिर्जना भएको थियो । उक्त विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिँदै डाक्टर कुटेर आएको बताएका थिए।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको जनाइएको छ ।
यस प्रकरणमै मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।
चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।