
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्।
४४ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पर्यटन व्यवसायीहरूले राजदूत श्रीवास्तवलाई यस्तो प्रस्ताव राखेका हुन्। भारतीय पर्यटकको पहिलो रोजाइ पोखरा र गण्डकी प्रदेश भएको उल्लेख गर्दै उनले भारतका पर्यटकीय सहरबाट पोखरामा सिधा उडानको पहलकदमी बढाउन भारतीय राजदूतसँग आग्रह गरेपनि राजदूत श्रीवास्तवले सिधा जवाफ भने दिएनन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच नजिकको सम्बन्ध रहेको बताए । नेपालमा आउने पर्यटकमध्ये ४० प्रतिशत भारतीय पर्यटक रहेको बताउँदै उनले पछिल्ला समयमा भारतीयहरूले पदयात्रा र पर्वतारोहणमा रुचि राख्ने गरेको उल्लेख गरे ।
पर्यटकको आगमन बढाउन सडक पूर्वाधारलाई चाँडो व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआइ अन्तर्गत बनेको भनेर चीनले दाबी गरिरहँदा भारतले सिधा उडानको अनुमति दिएको छैन। विमानस्थल सञ्चालनमा आउनुअघि नै बुद्ध एयरले पोखराबाट दिल्ली र बनारस उडानको अनुमति मागे पनि भारतले अहिलेसम्म अनुमति दिएको छैन।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए ।
पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको भन्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
लुम्बिनीदेखि मुक्तिनाथसम्मको दु्रतमार्ग निर्माण गर्नसके हिन्दू र बौद्ध धर्मावलम्बीको ‘कनेक्टिभिटी’ राम्रो बन्ने पाण्डेको भनाइ छ ।
गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपेन्द्रबहादुर थापाले प्रदेशका पर्यटकीय उपजलाई विश्वबजारमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा उडान गर्नसके यसले पर्यटकको आगमन बढाउने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना प्रभावित पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै प्रवर्द्धनका गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।
भारतीय मुद्रा सटहीमा देखिएको समस्याले भारतीय पर्यटक समस्यामा परेको बताउँदै उनले उक्त समस्याको तत्काल समाधान गर्नुपर्ने धारणा राखेका थिए ।