कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

-


     मर्दी न्युज    
     २० अशोज २०८० मा प्रकाशित


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । ३० दिनभित्र विश्वासको मत पाउनुअघि नै उनले राजनीतिक निकासका निम्ति राजीनामा दिने घोषणा गरेका हुन्।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले जनताको माग मध्यावधि नभएको भन्दै राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। ‘प्रदेश निर्वाचन अहिले जनताका माग होइन। कतिपय घटनाले पनि जनतामाझ निर्वाचनको माहोल छैन। के कस्तो गरेर गर्न सकिन्छ, त्यसको लागि एमाले तयार छ। अरु दल पनि आउनपर्‍यो। यहाँ सरकारको कुरा रहेन अब,’ उनले भने।

उनले एमाले सहमति सहकार्यका लागि हरदम तयार रहेको बताए। ‘कतिपय साथीले एमालेले सहमति चाहेको छैन भन्ने पनि आयो। तर सहमतिका लागि एमालेले सबै विकल्प खुला छोडेको छ। सबैसँग सहमतिको प्रयास गरेको छ। मैले आधिकारिक पत्र पनि पठाएको छु,’ उनले भने।