सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हामासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीहरूको परिवारलाई सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नेपालका सम्पूर्ण सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। उनले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि समन्वय भइरहेको बताइन्।
बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । एक जना नेपाली भने सम्पर्कविहीन छन्।