काठमाडौँ । सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं,’ परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा भनेको छ।
‘नागरिकहरूविरुद्धको आक्रमणबारे हामी गम्भीररूपमा चिन्तित छौं। सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं। विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।