
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सञ्चारकर्मी रामचन्द्र राईले जापानबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा राईले आफ्नो जन्म दिनको अबसर पारेर गत माघमा सहयोग गर्ने घोषणा गरेका थिए । सहयोग रकम छोरी प्राप्ति राईमार्फत प्रदेश समितिलाई सोमवार चेकबाट हस्तान्तरण गरिएको हो ।
राई नेपालमा रहँदा र हाल जापानमा रहँदा समेत पोखराको पव्लिक फोर के टेलिभिजनका लागि संवाददाताको भूमिकामा छन् । राईले जापानबाट नै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको त्रिभुवन स्मृति अक्षयकोषमा योगदान गर्न विगतमा नेपालमा पत्रकारिता गरेर हाल प्रवासमा रहेका अग्रज र सहकर्मीलाई आपिल नै गरेका छन् । ‘विगतमा म जस्तै माइक्रोफोन गोजीमा थन्क्याएर सटुक्क प्रबासिने धेरै अग्रज तथा मित्र त्रिभुवनका धेरै नजिकका दौँतरी सहकर्मीहरु हुनुहुन्छ । यो सन्दर्भमा यो महत्वपूर्ण कर्ममा वहाँहरु सबैलाई सहभागी भईदिन हुनको लागी यहीँबाट सार्वजानीक अपिल पनि गर्न चाहन्छु’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।
महासंघ कार्यलय परिसरमा सोमबार साँझ एक कार्यक्रमका बीच प्राप्त चेक बुझ्दै महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले अक्षयकोषका लागि सहयोग प्रदान गर्ने रामचन्द्र राई र उनका जीवन संगिनी सुशीलाप्रति आभार प्रकट गरे ।
उनले कोषलाई आगामी १ माघ सम्ममा पूर्णता दिने लक्ष्य राखिएको जानकारी दिँदै योगदान गर्न सहकर्मी पत्रकारहरु र स्वर्गीय पौडेलका सुभेच्छुकहरुमा समेत आह्वान गरेका छन् ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा सहजिकरण गरेका पत्रकार अपिल त्रिपाठीले महासंघले स्थापना गरेको कोष पत्रकार र सञ्चारकर्मीकै लागि भएकाले आफूजस्तै सबैले हातेमालो गर्ने अपेक्षा राईले राखेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले प्रदेशले स्थापना गरेको कोषमा कास्की शाखा र अरु जिल्ला शाखाहरुबाट समेत योगदान हुने बताइन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कास्कीमा क्रियासिल पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रमको सञ्चाल प्रदेश समिति सदस्य सुनिल पाण्डेले गरेका थिए ।
महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको १ माघमा यती एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएको थियो । पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गत ९ माघमा आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा प्रदेश स्तरीय ‘त्रिभुवन पौडेल स्मृति पत्रकाररिता पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित १० लाख रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने निर्णय गरेको थियो ।
त्यसमा प्रदेश समितिको तर्फबाट ५ लाख रुपैयाँ र बाँकी ५ लाख रुपैयाँ महासंघ गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु, पत्रकार एवं सुभेच्छुकहरु मार्फत जम्मा गर्ने निर्णय भएको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
महासंघ गण्डकीले अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन पौडेल स्मृति कक्ष’ नामाकरण गरेको छ ।