कर्मफ्लाईट्सद्वारा बाग्लुगका दुई विद्यालयमा आइसीटी कम्प्युटर ल्याब हस्तान्तरण

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०८० मा प्रकाशित


पोखरा । एडुटेक नेपालको सहकार्यमा कर्मफ्लाईट्सद्वारा बाग्लुङको ढोरपाटन–९, सुकुरदुङस्थित सरस्वती माध्यमिक विद्यालय र निसीखोला गाउँपालिकाको लेवाङस्थित झुपरीकोट आधारभूत विद्यालयमा आईसीटी कम्प्युटर ल्याब स्थापना गरि हालै एक कार्यक्रमको बिचमा हस्तान्तरण गरेको छ ।

गत मंसीर १२ गते निसीखोला गापा १ लेबाङस्थित झुपरीकोट आबिमा गापाका शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मन्जु सुबेदीले आईसीटी ल्याब उद्घाटन गर्दै गाउँपालिकाको गुणस्तरीय शिक्षा लक्ष्य प्राप्तिमा यस प्रकारको आधुनिक कम्प्युटर प्रयोगशाला हस्तान्तरण गरेको हो । उनले हुनुले अत्यन्तै ठुलो अर्थ राख्ने बताउँदै अब आईसीटी ल्याब भएका विद्यालयका शिक्षकहरुलाई कर्मफ्लाईट्स र एडुटेक नेपालको सहकार्यमा कम्प्युटर तलिम पनि प्रदान गरिने बताइन् ।

कर्मफ्लाईट्सका कार्यक्रम निर्देशक प्रेम कुवरले संस्थाको उद्देश्य आफ्ना सू्चना प्रविधि साझेदार संस्थाको साझेदारीमा दुर्गम भेगमा अध्ययन गर्ने बालबालिकाहरुको लागि एक आधुनिक कम्प्युटर प्रयोगशाला बनाउनु रहेको बताए । यस्तै उनले विद्यार्थीहरूको लागि सिकाइ अनुभवलाई सुधार गर्ने र प्रभावकारी शिक्षणका लागि शिक्षकहरूलाई नयाँ उपकरणहरू उपलब्ध गराउने, विद्यालयमा आईसीटी ल्याब परियोजना थिन क्लाईन्ट् सिस्टम कार्यान्वयनमार्फत विद्यार्थीहरूको लागि आधुनिक सिकाइ वातावरण सिर्जना गर्ने र आजका बालबालिकालाई २१ औ शताब्दिका बिश्व नागरिक बनाउन सहयोग पुर्याउने उद्देश्य रहेको बताए । कर्मफ्लाइट्सले एडुटेक नेपालको प्रविधि तथा आर्थिक साझेदारीमा गोरखा, पश्चिम बागलुङको निसीखोला, ढोरपाटन न पा, बडीगाड तथा गुल्मीको मुसीकोट नपामा गरी हालसम्म १८ वटा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको बताए । यसबाट हजारौ विद्यार्थीहरुलाई प्रविधिमा जोड्दै शिक्षामा रुपान्तरण गर्न भूमिका खेलेको बताउँदै उनले शिक्षाप्रेमी धिर प्रताप सिंहको पहलमा यसअघि स्थापना गरिएका ल्याबहरुको मर्मत सम्भार र अपडेट गर्ने साथै सूचना प्रविधि तालिम दिने कार्यमा संस्थाले अग्रसरता लिएको जनाए ।

कार्यक्रममा एडुटेक नेपालका पश्चिम नेपाल परियोजन प्रमुख आकाशकुमार दासले यस ल्याबले दुई शक्तिशाली सर्भर र २० मोनिटरहरूको प्रयोग गरि सर्भर कम्प्युटरबाट प्रयोगकर्ता कम्प्युटरहरू नियन्त्रण र निगरानी गर्न शिक्षकको क्षमता हुने बताए । रिमोट कन्ट्रोलको कार्यक्षमताले कम्प्यूटर शिक्षकलाई वास्तविक समयमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्न र सहयोग गर्न, व्यक्तिगत सहायता प्रदान गर्न र सहयोगी सिकाइ वातावरणलाई बढावा दिन सक्षम बनाउने बताउँदै ल्याब प्रयोगबारे सहजीकरण गर्ने उल्लेख गरे ।

कम्प्युटर ल्याब स्थापना अघि पोखरामा कर्मफ्लाइट्स र एडुटेक नेपालले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक, कम्प्युटर शिक्षक र एसएमसी अध्यक्षको उपस्थितिमा प्रयोगशाला तयारी अभिमुखीकरण सत्र आयोजना गरेको निर्देशक कुँवरले जानकारी दिए । यसैगरी तालिमको उद्देश्य फर्निचर, रंगरोगन योजना र अन्य समस्याहरूसहित प्रयोगशालाको तयारीको बारेमा विस्तृत मार्गदर्शन र जानकारी प्रदान गर्नु रहेको बताए ।

वडा नम्बर १ का वडा सदस्य राधा विकले आजको दिनमा महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा विद्यालयलाई बधाई दिदै वडाले भोलिका दिनमा पनि विद्यालयको उन्नयनको लागि बजेट विनियोजन गर्न जनप्रतिनिधिको हैसियतमा आपूmले सक्दो पहल गर्ने बताइन् । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका बीच नाच प्रस्तुत गर्नुका साथै स्थानीयले साँस्कृतिक झाँकी र पञ्चे बाजासमुहले बाजा बजाएर मनोरन्जन प्रदान गरेका थिए । विद्यालयका विब्यस अध्यक्ष गंगा घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रअ पञ्चबिर घर्तिले विद्यालयमा अत्यन्तै न्यून पूर्वाधार सुविधा हुँदाहुँदै पनि विद्यालयले हिम्मत गरेर आफ्नो ५ लाख ६० हजार र दातृ निकायको करिब १० लाख गरि १५ लाख ६० हजारको लागतमा ल्याब स्थापना गरिएको उल्लेख गर्दै विद्यालयलाई सहयोग जुटाईदिन अनुरोध गरे ।

यसैगरि मंसिर १३ गते ढोरपाटन न पा वडा नम्बर ९ सुकरुदुङगस्थित सरस्वती माबिमा पनि ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रकाश सापकोटाले विद्यार्थीहरु, अभिभावक तथा दातृ निकाय कर्मफ्लाइट्स र एडुटेक नेपालका प्रतिनिधिहरुको भव्य उपस्थितिमा आईसीटी ल्याबको उद्घाटन गरेका थिए । उनले नगरपालिकाले कम्प्युटर शिक्षक तालिमको लागि बजेट विनियोजन गरेको बताउँदै कर्मफ्लाइट्सको प्राविधिक सहकार्यमा पालिकाभित्र रहेका कम्प्युटर ल्याब भएका सबै मावि तथा आधारभुत विद्यालयहरुमा कम्प्युटर तालिम गराउने प्रतिबद्धतता जनाए ।

दातृ निकाय कर्मफ्लाईट्सका प्रतिनिधि फ्रान्सेलि नागरिक क्रिस्टोफरले आजको कम्प्युटर विज्ञानको युगमा विद्यालय शिक्षामा सूचना प्रविधि शिक्षाको प्रयोग सर्व स्वीकार्य भैसकेको बताउदै कम्युटर मोबाईल जस्ता सामाग्री हाम्रो दैनिक आवश्यकता भएता पनि यसप्रति धेरै आशक्ति हुन नहुने र बुद्धिमत्त तरिकाले प्रयोग गर्न सल्लाह दिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रअ प्रकाश जैसीले संस्थाहरुको ८ लाख ५० हजारमा विद्यालयको ३ लाख ६० हजार म्याचिङ गरि जम्मा रु १२ लाखको लागतमा आकर्षक र उत्कृष्ट ल्याब बनाइएको र यसलाई विद्यार्थी र शिक्षकको सिकाइ उपलब्धिसंग जोडने अवसरको रुपमा प्रयोग गर्ने बताए । वडा नं ९ का कार्यवाहक वडा अध्यक्ष मोहन पुन तथा वडा सदस्यहरुले विद्यालयमा स्थापित कम्प्युटर ल्याब साच्चिकै गर्व गर्न लायकको परियोजना भएको बताए ।