सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

-


     मर्दी न्युज    
     पुस ४ गते २०८० मा प्रकाशित


काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपियाँ तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिक्विन्टल पाँच सय ६५ रुपियाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपियाँ सरकारले कृषकलाई अनुदान दिने बताइन् ।

सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर प्रतिक्विन्टल ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।

‘‘सरकार गठनको प्रधानमन्त्रीज्यूले पदभार ग्रहण गर्नुभएको करिब एक वर्ष पुग्दैछ । केही सामान्य समीक्षा, केही कुराका छलफल भयो । मुख्यसचिवले समग्र कामलाई अलि पिकअप लिनको हाम्रा कतिपय प्रक्रिया र इच्छाशक्तिमा भएका समस्याहरुदेखि लिएर हामीले सबै सुधार गर्नुपर्ने कतिपय कुरा छन् । तिनका निर्णय प्रक्रिया, ऐन, कानुन निर्माणमा सुधार गर्नुपर्ने विषयमा पनि विस्तृत प्रस्तुति गर्नुभएको थियो ।,’’ मन्त्री शर्माले भनिन्, ‘‘आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य तोकिएको छ । त्यसलाई उद्योगले रु. पाँच सय ६५ प्रतिक्विन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपियाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ प्राप्त गर्ने निर्णय भएको छ ।’’