सातौं व्यास नगर अल्ट्रा म्याराथनको उपाधि जुनेसलाई

-


     मर्दी न्युज    
     १६ माघ २०८० मा प्रकाशित


दमौली । सहिद दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको सातौं व्यास नगर अल्ट्रा म्याराथन–२०८०को उपाधि जुनेस खड्काले जितेका छन् । त्रिभुवन आर्मी क्लबका खड्काले व्यास–५ मानहुँकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरी ३ घण्टा १८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

दुई विदेशी खेलाडीसहित ११७ जना धावक सहभागिता रहेको प्रतियोगितामा वैतडीका मोहनदेव जोशी द्वितीय र नेपाली सेनाका करण रावल तृतीय भएका छन् । उनीहरूले उक्त दूरी क्रमशः ३ घण्टा २ मिनेट ३३ सेकेन्ड र ३ घण्टा १० मिनेट २० सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा, त्रिभुवन आर्मी क्लबका प्रताप खड्का, सोलुखुम्बुका अर्जुन राई, त्रिभुवन आर्मी क्लबका तिलक सुनुवार र दाङका प्रेमबहादुर बस्नेत सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ८०, द्वितीयलाई ६५ हजार ८० र तृतीयलाई ५५ हजार ८० रुपैयाँसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । यस्तै, प्रतियोगितमा सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।

यस्तै, प्रतियोगिताको उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानहुँकोट पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने बताए । ‘पछिल्लो समय मानहुँकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ’, उनले भने, ‘मानहुँकोटको प्राकृतिक सुन्दरताले तनहुँको मात्रै नभई देशकै समृद्धिमा टेवा पुर्‍याउँछ ।’ मानहुँकोट घुम्न आउने पर्यटकलाई मध्यनगर गर्दै पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने र यसमा संघ सरकारको पनि साथसहयोग रहने बताए ।

खेलकुदमार्फत मगरहरूको गाउँ मानहुँकोट र सहिद गाउँ पुलिमराङको प्राकृतिक, संस्कृतिक र पर्यटनलाई प्रवर्द्धन गर्न सहिद दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

करिब ४४ किमि दूरीको म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–दुम्सी खहरे–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिकामार्ग हुँदै बानियाँ हिडी–बर्लाची–सोतीबेसी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङमा पुगेर सम्पन्न भएको थियो ।